
सुनसरी । धरान औद्योगिक क्षेत्रमा लामो समयदेखि निष्क्रिय रहेका उद्योगको लिज सम्झौता रद्द गरी ५ नयाँ उद्योग थपिएका छन् । नयाँ उद्योग थपिएसँगै करिब ३५ करोड बराबरको स्वदेशी लगानी भित्रिएको हो । सोही उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि ३ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाउने धरान औद्योगिक क्षेत्रका कार्यालय प्रमुख जीवनारायण बञ्जाडेले बताएका छन् ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कानूनी प्रक्रिया पूरा गरी लामो समयदेखि उत्पादन नगरी जग्गा ओगटेर बसेका उद्योगको लिज सम्झौता रद्द गरी नयाँ उद्योग थप गरेको उनको भनाइ छ । नयाँ थपिएका उद्योगहरू प्रीति भल्भ एन्ड फिटिङ इन्डस्ट्रिज, जिडी स्टिल इन्डस्ट्रिज, सिद्धि विनायक घरेलु उद्योग, जेआर भेन्चर्स र सूर्य डायमन्ड इन्डस्ट्रिज रहेका हुन् ।
सूर्य डायमन्ड इन्डस्ट्रिजको लिज सम्झौता भने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको केन्द्रीय कार्यालयबाट अन्तिम स्वीकृतिको प्रक्रियामा रहेको प्रमुख बञ्जाडेले बताए ।
प्रमुख बञ्जाडेले नेपाल न्यून नेटवर्क, शुभम् वाटर इन्डस्ट्रिज, जानकी प्रोडक्ट्स, फेमिली युटेन्सिल इन्डस्ट्रिज र कामना मल्टिफोर्ड इन्डस्ट्रिजको लिज सम्झौता रद्द गरिएको समेत बताएका छन् ।






