
एजेन्सी । बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार ढाकामा विशेष समारोहकाबीच बंगलादेश नेश्नलिस्ट पार्टी बीएनपी अध्यक्ष तारिक रहमानले प्रधानमन्त्रीको शपथ ग्रहण गरेका हुन् ।
बंगलादेशमा राष्ट्रपति भवनमा शपथ ग्रहण हुँदै आएको थियो । यसपालि संसद भवनको परिसरमा खुला आकाशमुनी मञ्च बनाएर प्रधानमन्त्री रहमानले सपथ लिएका हुन् ।
उनलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिनले शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहणपछि प्रधानमन्त्री रहमानले जुनसुकै मूल्यमा मुलुकमा शान्ति र कानुनी व्यवस्था कायम राख्ने प्रतिबद्धता व्यक्त गरे । उनले समर्थकहरूलाई बदलाभाव नराख्न चेतावनी समेत दिए । सरकारले कुनै पनि प्रकारको अराजकता नसहने बताए ।
फेब्रुअरी १२ मा भएको निर्वाचनमा बिएनपीले दुई तिहाई सिट जितेको थियो । यसपालिको निर्वाचनमा शेख हसिनाको अवामी लिगलाई प्रतिबन्ध लगाइएको थियो ।
शपथ ग्रहण समारोहमा विभिन्न मुलुकबाट सरकारका प्रतिनिधिहरूलाई पनि निमन्त्रणा दिएको थियो । नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी भएका थिए ।






