
झापा– राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख एवं क्षेत्रीय निर्देशक डा.लक्ष्मण पोखरेल सधैंजसो विदामा बस्ने गरेको पाइएको छ । उनी कार्यालय हाजिर भएको ७ महिनामा करिब ६ महिना बिदा नै बसेको पाइएको हो ।
क्षेत्रीय कार्यालय बिर्तामोडमा भएपनि पोखरेल प्रायः काठमाडौंमै बस्छन् । पोखरेल प्रायः दुई महिनाको फरकमा झापा आउछन् । तलब निकासा गरेर पुनः विदामा बस्छन् । पोखरेल चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडको प्रमुखका रुपमा गत असोज २ गतेदेखि हाजिर भएका हुन् । असोजदेखि चैत अन्तिम सातासम्मको ७ महिनामा पोखरेल करिब ६ महिनासम्म विदामा बसेको पाइएको छ ।
असोज २ गते कार्यालयमा हाजिर भएका निर्देशक पोखरेल उक्त महिना जम्मा ७ दिन मात्र कार्यालयमा उपस्थित भए । त्यस्तै कार्तिक महिनामा जम्मा एक दिन ३० गते मात्र कार्यालय आएका थिए । त्यसपछि ६ दिन कार्यालयमा हाजिर भएका पोखरेलले तलब निकासा लगायत काम गरेर पुनः विदामा बसेका थिए । मंसिर ५ गतेसम्म मात्र काम गरेर विदा बसेका कार्यालय प्रमुख पोखरेल एकैचोटी माघ १८ गते कार्यालय आएका थिए । उनी पुस महिनामा एक दिन पनि कार्यालय आएनन् ।
माघ १८ गतेदेखि ६ दिन कार्यालयमा बसेर काम गरेका पोखरेल पुनः विदामा बसेका थिए । माघ २३ गतेदेखि विदामा बसेका पोखरेल चैत १ गते मात्र कार्यालय आएका थिए । उनी फागुन महिनामा पनि एकै दिन कार्यालय आएनन् । पोखरेल गत मंगलबारदेखि पुनः विदामा छन् । महिनौं दिनसम्म विदामा बसेका पोखरेलले अधिकांश विदाको कारण ‘घर विदा’ लेख्ने गरेका छन् ।
चिया किसानले भोगिरहेका विभिन्न समस्याहरुको समाधान खोज्ने तथा आवश्यक समन्वय गर्ने जिम्मेवारी हो, राष्ट्रिय चिया तथा कफी विकास बोर्डको । तर, किसान र चिया क्षेत्रका समस्याहरुलाई बेवास्ता गर्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रमुख पोखरेल महिनौं दिनसम्म बिदामा बस्दा चिया क्षेत्र थप थलिएको छ ।






