राजवंशी जातिको सिरुवा पर्व सुरु, आज पानी सिरुवा मनाइँदै


April 14, 2026 मा प्रकाशित

झापा । नयाँ वर्ष २०८३ को सुरुवातसँगै आदिवासी राजवंशी जातिको सबैभन्दा ठूलो पर्व सिरुवा पर्व सुरु भएको छ । बैशाख १, २ र ३ गतेसम्म मनाइने सिरुवा पर्वको पहिलो दिन आज मंगलबार पानी सिरुवा मनाइँदैछ ।

पानी सिरुवाका दिन आपसमा पानी छ्यापाछ्याप गरेर पानी सिरुवा खेल्ने चलन छ । आपसमा पानीले भिजाउदा नयाँ वर्षभरी सितलता प्रदान गर्ने, शरीरमा नयाँ उमँग र उर्जा प्रदान हुने विश्वासका साथ पानी सिरुवा खेल्ने चलन रहेको राजवंशी जातिको अग्रजहरु बताउछन् । बैशाख २ गते ‘काद सिरुवा’ खेल्ने चलन छ । आपसमा हिलो छ्यापाछ्याप गरेर काद सिरुवा खेल्ने चलन छ ।

त्यस्तै बैशाख ३ गते ‘रंग सिरुवा’ खेल्ने चलन छ । वर्षभरी जीवन, विभिन्न रंगजस्तै रंगिन होस् भन्ने कामना गर्दै आपसमा रंग लगाईदिएर रंग सिरुवा खेल्ने चलन रहेको छ । सिरुवा पर्वका अवसरमा झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी बाहुल क्षेत्रमा सिरुवा मेला समेत लाग्ने गर्दछ ।

पछिल्लो समय विभिन्न ठाउँमा साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरेर सिरुवा पर्व मनाउँने क्रम बढेर गएको छ । सिरुवा पर्वको अवसरमा कोशी प्रदेश सरकारले बैशाख २ गते प्रदेशभरी सार्वजनिक विदा दिएको छ । त्यस्तै झापाका विभिन्न पालिकाहरुले सिरुवा पर्वको अन्तिम दिन बैशाख ३ गते स्थानीय विदा दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here