विर्तामोडमा २ सयभन्दा बढीलाई रोजगारी दिने मेला


June 11, 2026 मा प्रकाशित

झापा । आगामी शनिबार र आइतबार आयोजना हुन लागेको ‘विर्तामोड रोजगार मेला’ मा दुई सय बढी युवालाई रोजगारी दिने तयारी गरिएको छ । मेला आयोजक विर्तामोड नगरपालिका र उद्योग वाणिज्य संघ विर्तामोडले विभिन्न व्यवसायिक क्षेत्रमा ती युवाहरुलाई रोजगारी दिन लागेको जानकारी दिएको छ ।

दुई दिवसीय रोजगार मेलामा विभिन्न व्यवसायिक क्षेत्रका २५ वटा स्टल राखेर युवाहरुलाई दक्षता अनुसारको रोजगारी दिन लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेला आयोजक समितिका संयोजक सेवक बजगाईकाअनुसार विभिन्न २० वटा क्षेत्रका दक्ष, अर्धदक्ष, अदक्षलगायतका युवालाई रोजगारी दिने गरी रोजगारदाताहरुसंग समन्वय एवं छलफल भइरहेको छ ।

उनले रोजगार मेलामार्फत कम्प्युटर अपरेटर, एकाउन्टेन्ड, सेल्स, कूक, वेटर, नर्सिङ्ग, मेशिन अपरेटर, फ्याक्ट्री लेवर, शिक्षक, मेशन, अफिस एड्मिन, ड्राइभर, सेक्युरिटी गार्ड, मार्केटिङ, आइटी, हाउस किपिङ, पोल्ट्री फार्मिङ्ग, मोबाइल टेक्निसियनलगायत क्षेत्रमा रोजगारी दिने गरी रोजगारदाताहरुसँग छलफल भइरहेको बजगाईले बताए ।

रोजगार मेलामा आंशिक वा पूर्णकालीन रोजगारको व्यवस्था, नेपालका ख्यातीप्राप्त कम्पनी तथा उद्योग संग प्रत्यक्ष भेट, निःशुल्क करियर परामर्श तथा तत्काल अन्तरवार्ता गराएर रोजागरीको व्यवस्थ ागर्न लागेको उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।

विर्तामोडको अतिथि सदनमा सञ्चालन हुने दुई दिवसीय रोजगार मेलामा दुई हजारबढीको सहभागीता रहने आयोजकको दाबी छ । रोजगारीका लागि पाँच सयदेखि एक हजारसम्मका सहभागीको तत्कालै मेलामै अन्तरवार्ताको व्यवस्था गरिने आयोजकले जानकारी दिएको छ । करिब दुई जनालाई रोजगारीको सुनिश्चितता गर्ने र करिब तीन सय जनालाई उद्यमशीलता सम्बन्धि तालिमका लागि रेफर गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here