दमक, १८ फागुन । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले मुलुकमा द्वन्द्व सिर्जना गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । उनले झापा–५ बाट द्वन्द्व सिर्जना गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
नेता भट्टराईले मुलुकमा अप्रत्यासित समयमा चुनाव गराएर मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने प्रायोजित प्रयास भइरहेको बताए । सोमबार बिहान झापाको दमकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता बालेन्द्र शाहलाई उम्मेदवार बनाएर द्वन्द्व सिर्जना गर्न खोजिएको बताए ।
उनले मुलुकलाई द्वन्द्वतर्फ जान नदिन सरकार संवेदनशिल बन्नुपर्ने जिकीर गरे । भट्टराईले बालेन शाहलाई काठमाडौंमा उम्मेदवार बनाउने अवस्था रहेपनि झापा–५ मै ल्याएर उम्मेदवार बनाउने काम नियोजित षड्यन्त्र भएको बताए ।
झापा–५ का उम्मेदवार एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको जित निर्विकल्प भएको बताए । उनले ओली एमालेको मात्र नभई राष्ट्रकै नेतृत्व भएको बताए । ‘चुनाव लड्न कुनै एउटा पार्टीको र कुनै एउटा चुनाव चिन्ह चाहिएकाले मात्र उहाँ एमालेबाट उम्मेदवार हुनु भएको हो । उहाँलाई एमालेको मात्र उम्मेदवार बुझ्नु भएन । उहाँ यो राष्ट्रको नेतृत्व हो’ भट्टराईले भने ।






