झापा ५ मा ओलीको ४२ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक


February 17, 2026 मा प्रकाशित

दमक । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उम्मेद्वारी रहेको झापा क्षेत्र नंं ५ लाई केन्द्रित ४२ बुदे प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ । प्रतिवद्धता पत्रमा मुख्य चार क्षेत्र छनौट गरिएको छ । जसमा सुशासनको क्षेत्र, भ्रष्टाचार नियन्त्रण, राष्ट्र, राष्ट्रियताको सवाल र पूर्वाधार लगायतका क्षेत्रको विषय समेटिएको छ ।

झापा क्षेत्र नं. ५ का उम्मेद्वार रहेका एमाले अध्यक्ष ओलीको प्रतिवद्धता पत्रमा केहि राजनीतिक विषयहरुमा प्रष्ट पारिएको छ । जसमा उल्लेख गरिएको छ, ‘नेकपा एमाले नेपाली कम्युनिस्ट आन्दोलनको मूलधार हो । २००६ साल वैशाख १० गते स्थापना भई यस पार्टीले ७६ वसन्त पार गरेको छ। स्थापनाकालदेखि हालसम्म यस पार्टीले अनेकौं हन्डर ठक्कर खाँदै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा देखापर्ने दक्षिणपन्थी अवसरबाद र उग्रवामपन्थी भड्कावलाई परास्त गर्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई अझ सशक्त बनाउँदै अगाडि बढाउँदै छौं । एमालेले नेपालमा पहिलो पटक कम्युनिस्ट सरकार गठन गरी २०५१ र २०५२ सालमा लोकप्रिय कामको थालनी गरेको कुरा सबैमा जगजाहेर छ । आज मुलुक त्यही जगलाई टेकेर अगाडि बढिरहेको छ ।’

स्पष्ट कार्यदिशाको अभाव रहेका पार्टीहरू जनताबाट अलोकप्रिय बन्दै एक्लिदै, खण्डित हुँदै गईरहेको उल्लेख गर्दै प्रतिवद्धता पत्रमा नेकपा एमाले अनेक बाधा, अड्चनलाई चिर्दै अगाडि बढिरहेको भनिएको छ । ‘२०७४ सालको आमनिर्वाचनपछि नेकपा एमालेले सरकार गठन गन्यो र त्यसको नेतृत्व गर्ने अवसर केपी शर्मा ओलीले पाउनुभयो । कतिपय आन्तरिक कारण र वाह्य शक्तिको षड्यन्त्र र दबाबका कारण त्यो सरकार २०७८ सालमा विघटन भयो र नेकपा एमाले समेत खण्डित भई नेपाली कम्युनिस्ट आन्दोलनमा ठूलै क्षति पुग्यो । नेपाली जनतामा एकहदको निराशासमेत पैदा भयो । त्यसबाट दक्षिणपन्थी शक्तिहरूले शिर उठाउने मौका पाए ।’ प्रतिवद्धता पत्रमा भनिएको छ, ‘२०७४ २०७८ करिब साढे तीन वर्षमा डेढ वर्ष जति कोभिड महामारीले जनजीवनलाई अस्तव्यस्त बनाइदियो । बाँकी दुई वर्षमा मुलुकले पूर्वाधार विकासको इतिहासमा फड्को मारेको जगजाहेर नै छ ।

एमाले अध्यक्ष ओलीको प्रतिवद्धता पत्रमा राजनैतिक दलहरूमा देखिएको दोहोरो चरित्रका कारण केही स्टन्टबाजी र पपुलिस्टहरूले परिस्थितिको फाइदा लिन थालेको पनि जनाईएको छ । स्टन्टबाजी र पपुलिस्टको कुनै दर्शन नीति कार्यक्रम नभई केवल चर्का देखावटी नारा मात्र हुने उल्लेख गर्दै चर्का नाराले सर्वसाधारणमा केही भ्रम पार्ने गरेको जनाईएको छ । त्यसै गरी सामाजिक सञ्जाल र विद्युतीय सञ्चारले गलत र तथ्यहीन कुराहरू प्रशारण गर्दा केही मानिसका दिमागमा भ्रम पार्न सफल पनि भएको भन्दै कृत्रिम बुद्धिमत्ताको नियमनमा कानुनको अभावमा व्यापक दुरूपयोग भएको र त्यस्ता कुरा अनियन्त्रित हुँदा कतिपयलाई भ्रमित बनाएको जनाईएको छ ।

नेकपा एमालेले ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा अगाडि सारेको उल्लेख गर्दै यो नारा मात्र नभई कार्यक्रम पनि रहेको स्पष्ट पारिएको छ । यो नाराको विकल्प नरहेको ठहर गर्दै नेकपा ९एमाले० जनता र कार्यकर्तामा आधारित पार्टी रहेको र विगतमा भएका राम्रा कामको संरक्षण र अधुरा कामको जिम्मेवारी प्रति पनि प्रतिवद्धता जनाईएको छ ।

२०८२ साल फागुन २१ गते हुने निर्वाचनमा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई झापा क्षेत्र नं. ५ को उम्मेद्वारको रूपमा अगाडि सारेको र उहाँलाई अमूल्य मत दिई विजय गराउन अनुरोध गर्दै निर्वाचनपछि निर्धारण गरिएका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाईएको छ । प्रतिवद्धता पत्रमा भनिएको छ, ‘सुशासन लोकतन्त्रको सुन्दरता हो । देशमा राजनैतिक अस्थिरताले पर्याप्त सुशासन कायम नभएको कुरा सबैमा जगजाहेर छ । सुशासन कायम गर्ने हाम्रो प्रतिबद्धता र कार्यक्रम रहने छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here