
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीलाई प्रहरीले गण्डुस्थित निवासबाट शनिबार बिहान पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार बिहानै विशेष टोली खटिएर ओलीलाई नियन्त्रणमा लिएको हो । पक्राउको कारणबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन, तर उच्चस्तरीय अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाइएको छ।
ओलीलाई पक्राउ गरेसँगै उनको निवास आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ भने समर्थकहरू जम्मा हुन थालेपछि तनावको स्थिति सिर्जना भएको छ। सम्भावित विरोध प्रदर्शनलाई ध्यानमा राख्दै अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। यस घटनाले नेपाली राजनीतिक वृत्तमा तरंग ल्याएको छ ।
सत्तारूढ दल तथा प्रतिपक्षी दलका नेताहरूले प्रतिक्रिया दिन थालेका छन् भने एमालेले आकस्मिक बैठक बोलाउने तयारी गरेको छ । यस सम्बन्धमा गृह मन्त्रालय र नेपाल प्रहरीले औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ ।






