झापा, १९ फागुन । फागुन २१ गते बिहीबार देशभरी प्रतिनिधिसभा सदस्य निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्य हुने बताएको हो ।
मतदान गर्न जाँदा मतदाताहरुले परिचयपत्र खुल्ने कागजात बोकेर जानुपर्नेछ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएमा विभिन्न ६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न दिने व्यवस्था गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । उनकाअनुसार निर्वाचन आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्र भए सोही कागजात प्रयोग गर्नुपर्नेछ ।
उक्त परिचयपत्र नभएको अवस्थामा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र मध्ये कुनै एक कागजात साथमा लिएर मतदान गर्न सकिने व्यवस्था गरिएको उनले जानकारी दिए । उनले मतदातालाई आफ्नो परिचय खुल्ने कागजात लिएर निर्धारित समयमा आफ्नै मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न आग्रह गरेका छन् ।






