बैशाख ५ गतेदेखि चन्द्रगढी महिला गोल्डकप, विजेतालाई ११ लाख पुरस्कार


April 3, 2026 मा प्रकाशित

चन्द्रगढी २० चैत । झापाको चन्द्रगढीमा चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रि आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । गोल्डकप आगामी बैशाख ५ देखि १४ गतेसम्म सञ्चालन हुनेछ । गोल्डकप स्थानीय चन्द्रगढी युवा क्लबले आयोजना गर्न लागेको हो ।

चन्द्रगढीस्थित मेची रंगशालामा सञ्चालन हुने गोल्डकपमा नेपाल, भारत, भुटान र बंगलादेशका गरी १० वटा महिला फुटबल टिमको सहभागिता रहने आयोजक क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

क्लबका अध्यक्ष रोहित सुब्बाले गोल्डकपमा नेपालका विभागीय महिला फुटबल टिमहरु त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब तथा चर्च ब्वाइज युनाइटेड, संकटा महिला फुटबल क्लब सहभागी हुने निश्चित भएको जानकारी दिए । बाँकी महिला फुटबल टिमहरु भारत, भुटान र बंगलादेशबाट सहभागी हुने सुब्बाले बताए ।

गोल्डकपको विजेता टिमले नगद ११ लाख तथा उपविजेता टिमले नगद ५ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै गोल्डकपको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ताले समेत नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष सुब्बाले बताए । गोल्डकप सम्पन्न गर्न करिब एक करोड रुपैयाँ खर्च अनुमान गरिएको छ । गत सिजनमा झापाको दूधेमा महिला गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here