आज फागु पूर्णिमा, पहाड र हिमाली जिल्लामा मनाइँदै


March 2, 2026 मा प्रकाशित

झापा । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व सोमबार मनाइँदैछ । आजको दिन परम्परागत रूपमा विभिन्न रङ खेली फागु पर्व मनाउने परम्परा छ ।

केही वर्षअघिसम्म उपत्यकामा आपसमा पानी र रङ छ्यापाछ्याप गरेर मनाउने यो वर्ष पछिल्लो समय सभ्य बन्दै गएको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् ।

उक्त चिरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुँछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चिरको खरानीको टीका लगाइन्छ ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रूखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चिरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ।

फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा मङ्गलबार होली मनाइँदै छ । तराइका जिल्लामा मङ्गलबार नै सरकारले सार्वजनिक बिदा दिएको छ ।

सरकारले निर्वाचन नजिकिएका कारण यसपालिको होली घरमै मनाउन आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here